Thursday, March 12, 2015

विष्णु छुवाछुतको अन्तका लागि प्रवक्ता वनेकी छिन

विष्णु वि.क.पर्वत जिल्लाको तिलाहार गाविसको वडा नं. ९ मा वस्छिन । उनी निरक्षर छिन । उनको २० वर्षको उमेरमा दलित जातिसंग विवाह भएको थियो । आफू ठूलो जातको महिला सानो जातको पुरुषसंग विवाह भएकोले उनको माइती घरको ढोका उनका लागि सदाका लागि वन्द भएको छ ।  एकातर्फ आफ्ना दाजुभाई दिदी वहिनी धेरै हुनु, अर्कोतर्फ आफ्नो वुवाले अर्को श्रीमती ल्याउनुको कारणले उनी शिक्षाको उज्यालोवाट टाढा भईन । उनका ३ वटा छोराछोरी छन । उनका श्रीमान अपाङ्ग हुनु, खेती गर्नका लागि पर्याप्त जग्गा जमिन नहुनु आदि कारणले उनलाई छोराछोरी हुर्काउन निकै कठिन थियो । नागरिक सचेतना केन्द्रमा जानु भन्दा अगाडि गाउं विकास समितिवाट के कस्तो सहयोग पाइन्छ भन्ने वारेमा उनलाई जानकारी थिएन । उनको श्रीमान सधैंभरि उनको वारेमा तल्लोतहको सोचाई राख्ने गर्दथे । महिलाको काम, जुठो भांडो, चुलो चौको उनको काम भनेर तल्लो वनाइरहन्थे । त्यसै गरी उनका सासु र नन्द अमाजुले पनि उनलाई हेलाको दृष्टिकोणले हेर्ने गर्दथे । विवाह गर्न आफ्नो जात पनि नपाएर हामीकहां आएकी भनेर तुच्छ वचन वोल्ने गर्दथे । सामाजिक परिचालकले उनको घर परिवारमा सम्झाउन खोज्दा जागिर पचाउने काम गरेकी भन्ने गर्दथे । एकदिनको कुरा हो, गाउंका दिदी वहिनीले चुरा पोते किनेको देखेर उनलाई पनि चुरा पोते लगाउने रहर लाग्यो । चुरा पोते किन्नका लागि उनले श्रीमानसंग रु. ५ हजार रुपियां मागिन । उनका श्रीमानले तीतो वचन लगाए तर पैसा दिएनन । उनले मनमनै केही गर्ने अठोट गरिन । उनले नागरिक सचेतना केन्द्रवाट कुखुरा र च्याउ खेतीका वारेमा सिक्ने अवसर पाइन । अहिले उनले सानोतिनो आम्दानी गर्न थालेपछि उनका श्रीमान, सासु, नन्द अमाजुले पनि उनलाई माया गर्न थालेका छन । नागरिक सचेतना केन्द्रमा छुवाछुतको विषयमा भएको पटक पटकको छलफलले अहिले तिलाहार गाविसको वडा नं. ९ मा माथिल्लो जातका मानिसहरुले तल्लोजातका मानिसलाई गर्ने व्यवहारमा परिवर्तन आएको छ । मानिस भएर मानिसलाई छुवाछुतको व्यवहार गर्ने हो भने त्यस्ता व्यक्तिलाई कानून लाग्छ भन्ने विषयमा भएका पटक पटकका छलफलले विष्णुलाई माइत जाने ढोका खुला भएको छ । विष्णुले आफ्नो छोरालाई विद्यालयका मास्टरले पिट्दा छोराको टाउकोमा रगत जमेकोले प्रहरी चौकीमा गई रिपोर्ट समेत लेखाइन । आफू एक निरक्षर महिला, जिल्ला शिक्षा कार्यालयवाट संचालित प्रौढ कक्षामा भर्ना भई आफ्नो नाम लेख्न सक्ने भएकी छिन ।
उनी भन्छिन नागरिक सचेतना केन्दमा सिकेका कुराहरु आफ्नो जीवनमा मात्र सीमित नराखी अरु छिमेकी दिदी वहिनी नातागोता भाई भतिजहरुलाई पनि सिकाउने उनको प्रतिवद्धता रहेको छ । उनको पहिलो प्रतिवद्धता भनेको छोरीलाई जीवनयापनका लागि जीवन उपयोगी सीप तथा तालिम दिई जीवनमा आर्थिर्कोपार्जन गर्न सक्षम वनाउनु हो ।

No comments:

Post a Comment