Thursday, March 12, 2015

सचेतना केन्द्रको स्थापनाले महिलाहरुको ईज्जत र सम्मान वढेको छ

राम कुमारी तिमल्सिना अहिले ५५ वर्षकी भइन । उनी देउपुर गाविसको वडा नं.२ मा वस्छिन । उनको परिवारमा ६ जना सदस्यहरु रहेका छन । उनका २ छोरा र १ छोरी छन । उनको छोराको विवाह भइसकेको छ । उनका परिवारका सदस्यहरु मध्ये उनको श्रीमान तथा छोरा फरक क्षमता भएका व्यक्तिभित्र (अपाङ्ग) भित्र पर्दछन । कृषि उनको परिवारको प्रमुख पेशाको रुपमा रहेको छ । उनीसंग पर्याप्त जमिन छैन भएको जमिन पनि त्यति उर्वर छैन जसले गर्दा जीवन निर्वाह गर्न उनलाई निकै सकस छ ।
उनलाई नेपाल सरकारले फरक क्षमताका व्यक्तिहरुका लागि जीवन निर्वाह भत्ता दिएको कुरा थाहा थिएन । उनले झन प्रक्रियाको विषयमा थाहा पाउने त कुरै भएन । उनी र उनका छिमेकीहरु थुप्रै सामाजिक विकृतिहरुले घेरिएका थिए । छोराछोरी वीचको विभेद, वोक्सी प्रथा, अत्यधिक रक्सी सेवन अनि महिला हिंसा, महिलावाट महिलामाथि हुने हिंसा, महिलाहरुमा नागरिकताको कमी, विभिन्न प्रकारका निर्णय प्रक्रियाहरुमा महिलाहरुको शुन्य सहभागिता, खुलादिसा तथा सरसफाईजन्य व्यवहारको कमी आदि ।
नागरिक सचेतना केन्द्रको संयोजकको रुपमा जव उनी सचेतना केन्द्रमा आउन थालिन, उनले फरक क्षमताका व्यक्तिहरुले पाउने सेवा सुविधाको वारेमा जानकारी पाइन । साथै सो सेवा सुविधा कसरी प्राप्त गर्न सकिन्छ भन्ने वारेमा पनि जानकारी पनि पाइन । अहिले उनको श्रीमान र छोराले फरक क्षमताको हैसियतले पाएको सेवा सुविधाले उनको परिवारको रोजीरोटी जुटाउन निकै ठूलो सहयोग गरेको छ ।
राम कुमारीले आफ्नो विगत सम्झदै भन्छिन, “ उनको गाउंमा उनलाई कसैले पनि नमस्कार गर्दैनथे” । महिलाहरुले पनि उनलाई चिन्दैनथे । उनलाई आफनै गाविसका वडाहरुको वारेमा जानकारी थिएन । सचेतना केन्द्रको सदस्य भएपछि धेरै मानिसहरुको वीचमा वडा योजना तर्जुमा वैठकमा उनले सहभागि हुने र सहजिकरण गर्ने अवसर पाइन । उनले विकासका विभिन्न विषयमा आफ्ना विचारहरु राख्ने अवसर पनि पाइन । उनी तत्पश्चात गाउं परिषदमा भाग लिने अवसर पाइन । उनले वजेट र कार्यक्रम कसरी तय गरिंदो रहेछ भनेर जानकारी पाइन । उनलाई आफू आफ्नो जीवनको पहिलो पटक समुदायको उपयोगी सदस्य हुन पाएकोमा गौरव महसुस भयो, जव उनी गाउं परिषदको वैठकमा वसेर महिला र वालवालिकाको पक्षमा वोलिन । उनी आफूमात्र समूहका वैठकमा भाग लिन्निन उनले समूहका धेरै सदस्यहरुलाई समूहको वैठकमा सहभागी हुनका लागि उत्प्रेरित गर्ने काम गर्छिन । उनले समूहका १३ जना महिलाहरुलाई नागरिकता दिलाउन सफल भएकी छिन । जन्मदर्ता, विवाहदर्ताको सम्वन्धमा सचेतना केन्द्रमा छलफल मात्र नभई सचेतना केन्द्रका सदस्यहरुले घटना दर्ताका लागि अभियान पनि गरेका छन । जसको फलस्वरुप उनको वडामा कोही पनि घटना दर्ता गराउनवाट छुटेको छैन । घटना दर्ताको यो अभियानले छोरीहरुको जन्म दर्ता सत प्रतिशत वनाउन सफल भएको छ । सचेतना केन्द्र शुरु हुनु भन्दा अघि छोरीहरुको जन्मदर्ता ४० प्रतिशत मात्र थियो । सचेतना केन्द्र वन्नु भन्दा अघि मुश्किलले एकाध सदस्यहरुको घरमा मात्र चर्पी थियो, अहिले सवैको घरमा चर्पी छ । गाउं पहिलाको तुलनामा निकै सफा सुग्घर देखिएको छ । सवै भन्दा ठूलो कुरा उनी आफै रुढीवादी मान्यतावाट आधुनिक मान्यतामा वदलिएकी छिन ।

No comments:

Post a Comment